कामकाजी महिला, पुरुष प्रताडना

जीवन अनि जगत्को सनातन शाश्वतता त यही हो कि नारी-पुरुष एकअर्काका परिपूरक हुन् । यिनको पार्थक्यबाट होइन, समन्वयबाट नै सृष्टि र मानव सभ्यताले निरन्तरता पाइरहेको छ ।



sadhana
अहिले समाजमा एकातिर महिला अधिकारका कुरा जोडतोडले उठिरहेका छन् भने अर्कातिर दिनानुदिन बढिरहेका छन्, महिला हिंसाका घटनाहरू ! एउटा विरोधाभाषबाट गुज्रिरहेको आभाष भैरहेछ वर्तमान ! हामीकहाँ एउटा उखान प्रचलित छ- 'बिरालो मारेको देखिन्छ, दूध पोखिएको देखिँदैन ।' यही उखान चरितार्थ भैरहेको छ, आज हाम्रो सामाजिक परिदृश्यमा । महिला हिंसाका ती असंख्य घटना व्यक्त छन्, दृश्य छन् । त्यसैले चौतर्फी रूपमा त्यसको विरोध पनि भैरहेछ । तर दूध पोखिए झै  नेपथ्यमा असंख्य महिला मानसिक यातनाको सिकार भएका छन्, जुन अदृश्य छ । त्यसैले अव्यक्त पनि छ । बलात्कार अर्थात् बलपूर्वक गरिने कार्य ! यसलाई शरीर तथा यौनसँग मात्र अर्थापन गरेर हेरिँदाका असंख्य पीडित महिला न्यायको पर्खाइमा छन् । तर यहीँ मानसिक र वैचारिक बलात्कारले पलपल सताइएका थुप्रै महिला पनि छन्, जसको कुनै चर्चा हुँदैन । स्वयम् व्यक्त गर्न चाहँदैनन्, उनीहरू आफ्ना पीडा । अनि भित्र पसेर आँसु पुछेर बाहिर मुस्कुराउँदै कार्यक्षेत्रमा लागिरहेका छन् । त्यसैले व्यक्त हुनुपर्छ, अब त्यो अव्यक्तता अनि वैचारिक नवीनता र उदारताले मेटाइनुपर्छ, उनीहरूका कुण्ठा र निराशा !

यो अव्यक्त पीडाको प्रसङ्ग हो, समाजका विभिन्न कार्यक्षेत्रमा सक्रिय रहेका महिलाहरूको जसलाई सामान्य शब्दमा कामकाजी महिला भनेर पनि बुझिन्छ । बाहिरबाट हेर्दा अत्यन्त व्यस्त र लोभलाग्दो देखिने उनीहरूको दिनचर्याको भित्री पाटोमा चियाउने हो भने न्युन संख्यामा मात्र त्यस्ता भाग्यशाली महिला देखिन्छन्, जसले परिवारबाट पूर्णरुपेण सहयोग र सद्भाव पाएका छन् । बाँकी ठूलो जमात भने दायित्वबोध र जिम्मेवारीको दोहोरो मारमा परेका छन् । दृश्य समस्याका लागि नियम कानुनको निर्माण गर्न सकिन्छ, तर अदृश्य समस्याको समाधान चेतनाको विकासबाट मात्र सम्भव छ । वास्तवमै महिला-पुरुष बीचको विभेदको अन्त्यका लागि उनीहरूमा समानता, सहअस्तित्वबोध र सहकार्यको वातावरण सिर्जना गरिनुपर्छ । महिला आरक्षणका नाममा उनीहरूलाई अनन्तकालसम्म कमजोर रूपमा प्रस्तुत गरिनुभन्दा उनीहरूको सशक्तीकरण तथा व्यक्तित्व विकासका लागि उपयुक्त अवसरहरू प्रदान गरिनुपर्छ ।

साथै प्रत्येक व्यक्तिले आफ्नो परिवारका महिला सदस्यको आत्मसम्मानको कदर गर्दै उनीहरूसँग सहकार्य गर्ने उदारता प्रस्तुत गर्न सक्नुपर्छ । सिद्धान्ततः नारी-पुरुष समान भनिए पनि व्यवहारमा अझै यो चरितार्थ नहुनु एक्काइसौं शताब्दीकै उपहास बनेको छ । समाजका विभिन्न क्षेत्रमा क्रियाशील अझ विशेषगरी बौद्धिक वर्गका महिलाहरू समाजको विभेदकारी प्रवृत्तिले पीडित भएका छन् । एकातिर सामाजिक मूल्य-मान्यताका अनेक बन्धन तथा प्रकृतिप्रदत्त दायित्वबोध अर्कातिर शंकुचित मानसिकताले सिर्जिएका अनेक मानसिक प्रताडना ! त्यसैले त भित्रभित्रै मर्माहत छन्, उनीहरू । आफूमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउँदै स्वअस्तित्वको खोजीमा निस्केका उनीहरूका क्रियाकलापप्रति परिवारकै सदस्यहरूको शङ्का तथा असहयोग हुने गर्छ भने जीवनको हरेक क्षण सहकार्य गर्ने वचनबद्धतासाथ सहयात्रा सुरु गर्ने पतिको समेत सहकार्य तथा साझेदारी देखिँदैन । केही यस्ता पति पनि हुन्छन्, जो पत्नीको मर्म बुझ्छन्, सहकार्य पनि गर्छन्, तर लुकेर मात्रै ! किनभने अरुले थाहा पाएमा उसलाई 'जोइटिङ्ग्रे'को उपमा दिइन्छ । कस्तो विडम्बना ! स्त्रीले सदा पुरुषको सेवा-चाकरी गर्छे र पनि उसका लागि 'पोइटिङ्ग्रे' शब्द हाम्रो शब्दकोशमा छैन । त्यसैले अब हटाइनुपर्छ, यस्ता विभेदकारी शब्दहरू हाम्रा शब्दकोशबाटै ।

वास्तवमा पुरुष अहम्का कारण आज बौद्धिक महिला वर्ग पीडित छन् । किनभने परम्परादेखि नै पति पत्नीभन्दा हरेक कुरामा उच्च तथा पराक्रमी हुनुपर्छ भन्ने मान्यतामा हुर्केका पुरुषहरू परिवारमा पत्नीको उचाइ बढेकोमा हीनताबोध गर्छन् भने समाजमा आफ्नोभन्दा पत्नीको मानसम्मान बढेकोमा उनीहरूको मनमा नजानिँदो किसिमले ईष्र्याको विजारोपण पनि हुनथाल्छ । नारी एकातिर परिवारको असहयोग तथा समाजको शङ्का-उपशङ्काको तनाव झेलिरहेकी हुन्छे भने अर्कातिर कार्यक्षेत्रकै पुरुषबाट पनि शारीरिक र मानसिक शोषणको सिकार बन्न सक्ने सम्भावना रहेको हुन्छ । यसबीच पनि नारी निरन्तर प्रगतिपथमा लम्कन चाहन्छे, आफूभित्रै डुबेर आफ्नो अस्तित्व खोज्न थाल्छे भने पुरुष उसलाई अधीनस्थ गराउन चाहन्छ । बलात्कार (मात्र यौनिक सन्दर्भमा होइन) गर्न खोज्छ पुरुष, स्वतन्त्रता चाहन्छे नारी ! असमझदारी बढ्दै जान्छ, अहम्को द्वन्द्व भुसको आगो बनेर सल्कन्छ । अन्ततोगत्वा दुबैको बाटो अलग ! आज हाम्रो समाजका विभिन्न क्षेत्रमा स्थापित महिलाहरूको वास्तविकतासम्म पुग्ने हो भने यसको प्रमाण भेटिन्छ, उनीहरूको जीवनको उत्तरार्द्धको एकांकीपनले दिइरहेको हुन्छ, यसको प्रमाण !

मान्छे सामाजिक प्राणी हो । नारी पनि मान्छे हुनाले उसको पनि इच्छा हुन्छ, सुखी पारिवारिक जीवनमा रमाउने । तर यहाँ यस्ता धेरै नारी छन्, जो जिन्दगीभर संघर्ष गर्छन्, अनेक पीडा-यातना झेल्दै । अन्त्यमा सफलता त पाउँछन्, तर त्यो सफलतामा रमाउने आफन्त गुमाइसकेका हुन्छन् । शिखर चढ्नुको आनन्द त त्यतिबेला हुन्छ, जब सकुशल फर्केर आउँदा उसलाई स्वागत गर्ने, संघर्षको कथा सुन्ने अनि पुनः उचाइतर्फ अग्रसर हुन हौसला थप्ने आफन्तले प्रतीक्षा गरिरहेका हुन्छन् । तर हाम्रो विभेदकारी सामाजिक संरचनाका कारण नारीहरू यस्तो अवसरबाट बञ्चित छन् । अनेक शङ्का, लाञ्छना र तनावका कारण उनीहरूमा निराशा र कुण्ठा उत्पन्न हुनु स्वाभाविकै हो । बाकीँ जीवन निसार अनि विसङ्गत !

एकातर्फ यस्तो अव्यक्त पीडा झेलिरहेका छन्, नारीहरू भने अर्कातर्फ घरपरिवार तथा समाजबाट अनेक आरोप-प्रत्यारोपका साथमा अनेक शारीरिक यातना भोगिरहेका छन् । यस्ता व्यक्त यातनामा हाल यौनजन्य बलात्कार तथा बोक्सीको आरोपमा गरिने अमानवीय व्यवहार देखिएका छन् । यसका विरुद्ध विरोध, प्रतिकार तथा आन्दोलन पनि नगरिएका होइनन्, तर पनि समस्या भने जहाँको तहीँ रहेको छ । यहाँनेर प्रश्न गर्नु अस्वाभाविक नहोला कि कतै हाम्रो मानसिकतामा केही कमजोरी पो छ कि, जसका कारण हामीले मानव अधिकार नभनेर माहिला अधिकार भनिरहेका छौँ ! जसरी नेपाली नभई अरु नै धेरैथरी हुनखोज्दा हाम्रो राष्ट्रियता सङ्कटमा पर्दैछ, त्यसरी नै मानव अधिकार नभनेर महिला अधिकार भनेकाले नारी अस्तित्व पनि अन्योलमा परिरहेको छ । माहिला मानव होइन र ? किन हामी आफैले आफूलाई मानवभन्दा भिन्न बनाइरहेछौँ ? स्मरणीय छ, नारीवादी आन्दोलनकी अग्रणी सिमोन दि वुभायरले 'द सेकेन्ड सेक्स' लेखेपछि त्यसको आलोचना गरिएको थियो, नारी आफूले आफैलाई सेकेन्ड सेक्स अर्थात् दोस्रो लिङ्ग मानेको भन्दै, किनकि दोस्रो लिङ्ग भन्नासाथ पहिलो लिङ्ग को हो भन्ने प्रश्न आउनु स्वाभाविक हुने हुँदा परम्परागत पुरुषप्रधान समाजले पहिलो लिङ्गका रूपमा आफूलाई प्रस्तुत गर्न किन पछि पथ्र्यो ? यस्तै भ्रम सिर्जना गरिरहेको छ, आज महिला अधिकारको प्रसङ्गले पनि । यथार्थमा महिला र पुरुष दुबै मानव भएकाले जेजस्ता इच्छा, चाहना, अनुभव, अनुभूति पुरुषमा हुन्छन्, महिलामा पनि हुन्छन् । यी दुई जातिमा पार्थक्य छ त केवल शरीर संरचनाको । यही शरीर संरचनाकै आधारमा प्रारम्भ भएको हो, नारी र पुरुषका नाममा मानव-मानवबीच विभेद ! त्यसैले अब पनि हामीले मानव अधिकार नभनेर महिला अधिकार भन्नु उपयुक्त होला र ? आज हाम्रो समाजमा जुन नारीमाथि अमानवीय व्यवहार भैरहेको छ, तिनीहरूका लागि मानव अधिकारको खाँचो छ । अतः मानव अधिकारकै आवाज बुलन्द गरिनुपर्छ, अबको नारी आन्दोलनमा ।

शताब्दीयौँदेखिको पुरुषबाट प्रताडित हुनाले आज नारी अत्यन्त विद्रोही बन्दै जानु स्वाभाविकै हो । आमूल नारीवादले नारी जीवनबाट पुरुषलाई निषेध गर्दै समलिङ्गी जीवन रोज्नुको कारण पनि यही हो । यति हुँदाहुँदै पनि जीवन अनि जगतको सनातन शाश्वतता त यही हो कि नारी-पुरुष एकअर्काका परिपूरक हुन् । यिनको पार्थक्यबाट होइन, समन्वयबाट नै सृष्टि र मानव सभ्यताले निरन्तरता पाइरहेको छ । यसलाई बचाइराख्न आपसमा सहअस्तित्वको सम्मान गर्दै पुरुषले पनि प्रकृति (नारी) र पुरुषको एकाकारको सृष्टिजन्य शाश्वततालाई मनन गरी सद्भाव, सहकार्य र व्यावहारिक उदारता प्रस्तुत गर्नुपर्छ । यसलाई लुकेर होइन, खुलेर प्रस्तुत गर्नुपर्छ, किनकि परिवर्तनको प्रथम बाहक कोही न कोही त अवश्य हुनैपर्छ ! त्यसैले व्यक्त हुनुपर्छ, अब अव्यक्तताहरू !

 

 


तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।
* क्याप्चा
[ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]